झलनाथ खनाल, भजनी १६ चैत/भजनी नगरपालिका भित्रका अधिकांश सामुदायिक बिद्यालयले बिद्यालयको वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण नगरेको पाइएको छ ।
सामुदायिक बिद्यालयले हरेक आर्थिक वर्षको कार्तिक मसान्तसम्म अनिवार्य सामाजिक परिक्षण गरिसक्नुपर्ने भनिएको भए पनि भजनीका अधिकांश बिद्यालयले सामाजिक परिक्षण नगरेको पाइएको हो । चालू आर्थिक वर्ष सकिन चार महिना बाँकी हुँदासम्म नगरपालिकामा रहेका ३९ सामुदायिक बिद्यालय मध्ये १५ बिद्यालयले सामाजिक परिक्षण प्रतिवेदन नगरपालिकामा बुझाएका छन् । अन्य २४ बिद्यालयले शैक्षिकसत्र सकिन १५ दिन बाँकी हुँदासम्म सामाजिक परिक्षण गरेका छैनन् ।नगरपालिकाका शिक्षा अधिकृत पंख बहादुर शाहले बिद्यालयलाई सामाजिक परिक्षणका लागि बर्सेनि ताकेता गर्दा पनि सफल नभईएको बताएका छन् । “पटकपटक सामाजिक परिक्षणको प्रतिवेदन माग गरिरहेका हुन्छौं । समयमा कुनै बिद्यालयले उपलब्ध गराउँदैन ।” उनले भने, “अब हामी कडाइका साथ लाग्छौं । सामाजिक परिक्षण नगर्ने बिद्यालयलाई नगरपालिकाले मुल्यांकन गरेर गलत नजिर राख्छ ।”
उसो त बिद्यालयले सामाजिक परिक्षण नगरे पनि सामाजिक परिक्षण बापत भुक्तानी हुने १५ हजार रुपैयाँ बर्सेनि नगरपालिकाले भुक्तानी गर्दै आएको छ । नगरपालिकाका लेखा प्रमुख रविन्द्र देउवाले बिधालयलाई एकमुष्ट अनुदान भुक्तानी गरिँदै आएको बताएका छन् । उनले भनेअनुसार सबै बिधालयले सामाजिक परिक्षण नगरे पनि पाउने वार्षिक १५ हजार रुपैयाँ भने पाइरहेका छन् ।
राष्ट्रिय माद्यामिक बिद्यालय पोल्टुपुरका प्रधानाध्यापक लालबहादुर झाले आर्थिक हिसाब मिलाउन नसक्दा सामाजिक परिक्षण रोकिएको बताएका छन् । उनले गत आर्थिक वर्षमा खर्च भएको झण्डै ७ लाख रुपैयाँको हिसाब मिलाउन नसक्दा विवाद भएको उल्लेख गरे । “खाजामा, पुस्तकालयमा र अन्य गरि लगभग ७ लाख रकम घाटा देखिएपछि विवाद भएको थियो । त्यसको छानबिन समिती पनि बनेको छ । त्यसले प्रतिवेदन पनि दिएको छैन ।” उनले भने, “बिद्यालय पहिले नै ११ लाख घाटामा थियो । अब गत वर्षको दायित्व थप भएपछि झन समस्या हुने देखिएको छ ।” प्रधानाध्यापक झा भन्दा पहिले बिद्यालयमा डबल बहादुर बम प्रधानाध्यापक थिए ।अन्य बिद्यालयमा पनि कुनै न कुनै समस्या भएरै सामाजिक परिक्षणको काम रोकिएको देखिन्छ ।
त्रिपुरासुन्दरी आधारभूत बिद्यालय कृष्णनगरले चार वर्षदेखि सामाजिक परिक्षण गराएको छैन । चार वर्षको लेखा परिक्षण समेत नगरेको बिद्यालयले नगरपालिकाबाट सामाजिक परिक्षणका लागि बर्सेनि १५ हजार भुक्तानी लिइरहेको छ । बिद्यालय व्यवस्थापन समिती अध्यक्षका कारण लेखापरीक्षण गराउन समस्या भएको बिद्यालयका प्रधानाध्यापक चित्रबहादुर बस्नेत बताउँछन् । “अध्यक्ष कहिले भारत, कहिले काठमाडौं गर्दा अन्य प्रशासनिक काम गर्न पनि निकै असहज हुँदै आएको छ । सामाजिक लेखा परिक्षण पनि अध्यक्षकै कारण रोकिएको छ ।” उनले भने, “यो महिनाभित्र जसरी पनि लेखापरीक्षण सक्ने भनेको छु । नगरपालिकाले पनि ताकेता गरिरहेको छ ।”