Skip to main content

Bhajani Today

देशभरि अशान्तिबीच भजनीमा जेनजी समूहद्वारा शान्तिपूर्ण दबाब कार्यक्रम 

  भजनी २६ / देशभरि विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटनाले भयावह रुप लिँदै जाँदा समेत भजनि शान्त र अनुशासित रहन सफल भएको छ। स्थानीय जेनजी समूहका युवाहरूले शान्तिपूर्ण दबाब कार्यक्रममार्फत आफ्नो आवाज उठाउनुका साथै सरकारी संरचनालाई जोगाउन समेत उल्लेखनीय भूमिका खेलेका छन्।

भौतिक संरचना जलेर तहसनहस हुने घटनाहरू बढिरहेका बेला भजनीका युवाहरूले उल्टै शान्ति र सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले स्थानीय प्रशासनलाई सहयोग गर्दै आगो निभाउने, भीड नियन्त्रण गर्ने तथा आक्रोशित जनतालाई सम्झाउने काममा अग्रसर भई समुदायलाई ठूलो राहत पुर्‍याएका छन्।

शान्त वातावरण कायम राख्न सहयोग गर्ने युवामध्ये अमृत कुमाल, हरि काफ्ले, नानु काफ्ले, सुरेन्द्र काफ्ले, गोपी कडायत (आगो), झंकार बुढा, मुकेश कुमार चन्द, खेम पाण्डेय र जितु बडैला लगायतका नाम अगाडि आउँछन्। यी युवाहरूले न केवल भजनीको वातावरण सुरक्षित राखे, बरु देशभर फैलिएको अशान्ति बीच भजनीलाई शान्तिपूर्ण नमुना शहर बनाउन योगदान दिएका छन्।

स्थानीय बासिन्दा र सर्वसाधारणले समेत युवाहरूको सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै भजनीको शान्त वातावरणलाई उदाहरणीय कदमका रूपमा चित्रण गरेका छन्। उनीहरूको भनाइमा, “देशभर आगो बल्दा पनि भजनी शान्त छ भन्ने तथ्य नै यहाँका युवाहरूको सचेतना र नेतृत्व क्षमताको प्रमाण हो।”

विशेषगरी जेनजी पुस्ताले प्रस्तुत गरेको यो नयाँ सोच र जिम्मेवार आचरणले भविष्यमुखी नेतृत्वको संकेत दिएको छ। उनीहरूको सक्रियता र सहकार्यले देखाएको सकारात्मक ऊर्जा भोलिको नेपालका लागि प्रेरणादायी बन्नसक्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *