दिपक संगम विश्वकर्मा /टिकापुरमा रहेको न्यू लाइट एजुकेसन होमले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना गरेको “The Voices of New Light – Season 13” गायन प्रतियोगितामा जानकी गाउँपालिका-७, सन्तपुरकी मन्सरा विक प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
प्रतियोगितामा उत्कृष्ठ प्रस्तुति दिँदै सबैको मन जित्न सफल मन्सराले उत्कृष्ट स्वर प्रदर्शन गरेपछि निर्णायक मण्डल तथा दर्शकहरूबाट अत्यधिक प्रशंसा पाएकी थिइन्। उनको यस उपलब्धिलाई कदर गर्दै विद्यालयले एक साइकलसहित विशेष सम्मान प्रदान गरेको छ।
मन्सरा विक सानैदेखि गायन तथा नृत्यमा विशेष रुचि राख्दै आएकी छन्। बाल्यकालदेखि नै सांगीतिक प्रतिभा प्रदर्शन गर्दै आएकी उनले विभिन्न विद्यालयस्तरीय तथा स्थानिय प्रतियोगिताहरूमा भाग लिई सफलता प्राप्त गर्दै आएकी छिन्। विद्यालयका शिक्षकहरूका अनुसार उनी मेहनती, सिर्जनशील तथा प्रतिभाशाली विद्यार्थी हुन्, जसले सदैव आफ्नो प्रतिभा निखार्दै जाने प्रयास गरिरहेकी छिन्।
हाल उनी न्यू लाइट एजुकेसन होमको कक्षा ९ मा अध्ययनरत छिन्। उनको आगामी लक्ष्य संगीत क्षेत्रमा अझ उच्च शिक्षा हासिल गर्दै व्यावसायिक रूपमा अगाडि बढे भविष्य राम्रो देखिन्छ।
विद्यालयका प्रधानाध्यापकले मन्सराको लगनशीलता, आत्मविश्वास र गायनमा देखिएको प्रगति प्रशंसनीय रहेको बताउँदै विद्यालयले भविष्यमा पनि यस्ता प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
उनकी परिवारका सदस्यहरू मन्सराको सफलताले अत्यन्तै खुशी भएको बताउँछन्। उनका दाजु सिद्धबहादुर विकका अनुसार सानैदेखि गीतसंगीतमा विशेष चासो राख्ने भएकाले परिवारले उनको प्रतिभालाई सदैव प्रोत्साहन गर्दै आएको छ।
मन्सराले आफू यस प्रतियोगितामा विजयी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताइन्। उनले यो जितलाई आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि मान्दै भविष्यमा गायनलाई निरन्तरता दिने बताइन्।
उनले भनिन्, “मेरो यो सफलतामा परिवार, विद्यालय र मेरा प्रशिक्षकहरूको ठुलो योगदान छ। उनीहरूको समर्थन र प्रेरणाले मलाई अझ राम्रो गर्न प्रेरित गरिरहेको छ। भविष्यमा म संगीत क्षेत्रमै निरन्तर अघि बढ्न चाहन्छु।”
मन्सरा विकको यो सफलता स्थानिय प्रतिभाहरूलाई उजागर गर्न विद्यालय तथा समाजले खेलेको भूमिकाको उत्कृष्ट उदाहरण हो। यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको आत्मविश्वास र सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
“The Voices of New Light – Season 13” मा प्रथम स्थान हासिल गर्दै मन्सरा विकले आफ्नो प्रतिभा प्रमाणित गर्न सफल भएकी छिन्, जसले भविष्यमा पनि गायन क्षेत्रमा नयाँ अवसरहरूको ढोका खोल्ने विश्वास गरिएको छ।