Skip to main content

Bhajani Today

जोशीपुर गाउँपालिकामा प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दिपक बहादर विश्वकर्मा , कैलालीको जोशीपुरमा ७४औं प्रजातन्त्र दिवसको अवसरमा जोशीपुर गाउँपालिकामा “प्रजातन्त्र रक्षाका लागि हाम्रो भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम जोशीपुर गाउँपालिका नेविसंघ कार्यसमितिका अध्यक्ष राहुल बुढाको सभापतित्व तथा संविधान सभा सदस्य माननीय बुद्धिसागर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य एवं जोशीपुर गाउँपालिकाका निवर्तमान उपाध्यक्ष गीता कठरिया, प्रदेश सभा क्षेत्रीय सचिव एवं नेविसंघ केन्द्रिय सदस्य भक्तराज देवकोटा, नेविसंघ कैलाली जिल्ला अध्यक्ष मनिष कुँवर लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा जोशीपुर गाउँपालिका अन्तर्गतका आठवटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा रघुनाथ आदर्श प्राविधिक नमुना माध्यमिक विद्यालयका सुशिल भण्डारी प्रथम, जोशीपुर हेवन गार्डेनकी प्रिया चन्द दोस्रो, तथा सरस्वती माध्यमिक विद्यालय (फाँडिया) का महेश परियार तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो।

प्रतियोगिताको निर्णायक संयोजकमा डिल्ली राज ओझा तथा सदस्यहरूमा जयराज जोशी र सोनी देवी बम रहेका थिए। कार्यक्रमलाई सफल बनाउन योगदान दिने सम्पूर्ण सहभागी, विद्यालय, विद्यार्थी, अभिभावक एवं आयोजक टोलीलाई नेविसंघ केन्द्रीय कार्यसमितिको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको छ।

यसै अवसरमा रघुनाथ आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाई कार्यसमिति तथा नेपाली कांग्रेस जोशीपुर वडा नं. ७ वडा कार्यसमितिको संयुक्त आयोजनामा ज्ञात-अज्ञात शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना आदान-प्रदान तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।

त्यसैगरी, नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टीकापुर, कैलालीले टीकापुर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ भने नेविसंघ बीरेन्द्र विद्या मन्दिर क्याम्पस इकाई कार्यसमितिले टीकापुरको खडक चोकमा दीप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *