Skip to main content

Bhajani Today

नेपाल विद्यार्थी संघद्वारा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम

दिपक बहादुर विश्वकर्मा/ कैलालीको टिकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति नवीन अधिकारीको सभापतित्वमा तथा प्रमुख अतिथि प्रकाश शाहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका दौरान प्रमुख अतिथि शाहले प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको चर्चा गर्दै युवा पुस्ताले लोकतान्त्रिक मूल्य र मान्यताहरूको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले प्रजातन्त्रलाई संस्थागत गर्न शिक्षित युवाको भूमिका महत्वपूर्ण रहेको भन्दै विद्यार्थीहरूलाई सचेत, जागरूक र जिम्मेवार बन्न आग्रह गर्नुभयो।

सभापति नवीन अधिकारीले प्रजातन्त्र दिवस नेपाली जनताको संघर्ष, बलिदान र उपलब्धिको प्रतिक भएको बताउँदै नेपाल विद्यार्थी संघले सधैं लोकतन्त्रको पक्षमा दृढ अडान लिँदै आएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रणालीको मजबूतीका लागि एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गर्नुभयो।

कार्यक्रममा उपस्थित वक्ताहरूले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि सचेत नागरिक र विशेष गरी विद्यार्थी समुदायको भूमिकाबारे प्रकाश पार्दै वर्तमान राजनीतिक परिप्रेक्ष्यमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

दीप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघका विभिन्न तहका पदाधिकारीहरू, क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा स्थानीय समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै प्रजातान्त्रिक मूल्यमान्यताको प्रवर्द्धन गर्न सबैले योगदान पुर्‍याउनु पर्ने कुरामा जोड दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *