दिपक बहादुर विश्वकर्मा मोतीनगर, फागुन ५ – मोती माध्यमिक विद्यालय, मोतीनगर मा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको वार्षिक उत्सवलाई विशेष बनाउँदै जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमल महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका शिक्षकहरू, अभिभावकहरू, विद्यार्थीहरू तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि कमल महतोले विद्यार्थीहरूको प्रयास, अनुशासन र सफलताप्रति प्रसंसा गर्दै शिक्षा र खेलकुदले व्यक्तित्व विकासमा पुर्याउने योगदानबारे प्रकाश पारे। उनले विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्न प्रेरित गर्दै आगामी दिनमा विद्यालयको स्तर वृद्धिका लागि स्थानीय सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक दिपक दासले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयले शिक्षाको गुणस्तर सुधार्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य अभिभावक प्रतिनिधिहरूले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमका क्रममा विद्यालयले अन्तरसधानात्मक खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको थियो। साथै, २०८० सालको शैक्षिक सत्रमा उत्कृष्ट अकादमिक उपलब्धि हासिल गर्ने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। अनुशासनका आधारमा उत्कृष्ट देखिएका छात्रछात्राहरूलाई पनि विशेष सम्मान प्रदान गरियो।
विद्यालयको वार्षिकोत्सव अवसरमा सांस्कृतिक कार्यक्रम, नृत्य तथा गायन प्रस्तुति पनि आयोजना गरिएको थियो, जसले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्यो। कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्यो।
यसरी, मोती मा.वि. मोतीनगरको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै अत्यन्त उत्साहपूर्ण रूपमा सम्पन्न भयो।
कार्यक्रम सञ्चालन विद्यालय लेखापाल वीरेन्द्रबहादुर खड्का सभापति अभिभावक संघका अध्यक्ष विपिन चौधरी र स्वागत मन्तव्य शिक्षक पदमराज पोखरेलले गर्नुभएको थियो।