साझा अक्षर

जानकी र जोशीपुरमा दीप प्रज्वलन गर्दै ३०औं महान जनयुद्ध दिवस मनाइयो

कैलालीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जानकी  र जोशीपुर गाउँ समितिको आयोजनामा ३०औं महान जनयुद्ध दिवस जानकी वडा नं. ७, मिलनचोकस्थित शहीद गेट मिलन चौराह र जोशीपुर बजारमा दीप प्रज्वलन गर्दै भव्य रूपमा मनाइएको छ।

यस अवसरमा जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदान र योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, शहीद परिवारका सदस्यहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि बिहान ८ बजे जोशीपुरमा फुटबल प्रतियोगिता र दुर्गौलीमा पार्टी कार्यालय उद्घाटन गरिएको थियो। पार्टीले संगठनात्मक सुदृढीकरण, स्थानीय कार्यसमितिको प्रभावकारिता बढाउने तथा जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरेको जनाएको छ। उद्घाटन कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले यो कार्यालय जनताको सेवा गर्ने र संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

बिहीबार साँझ शहीद गेट मिलन चौराह र जोशीपुर बजारमा आयोजित औपचारिक कार्यक्रममा जनयुद्धका शहीदहरूलाई श्रद्धाञ्जली दिइयो। जानकी गाउँपालिका अध्यक्ष कृष्ण सोडारी र संविधान सभा सदस्य हरि श्रीईपालीले जनयुद्धले देशमा ल्याएको परिवर्तन, यसको ऐतिहासिक उपलब्धिहरू, वर्तमान राजनीतिक परिस्थिति र भविष्यमा पार्टीले लिने रणनीति बारे धारणा राखे।

कार्यक्रमका प्रमुख वक्ताहरूले जनयुद्धले प्राप्त उपलब्धिहरू जोगाउन र थप संस्थागत गर्न सबै नेता, कार्यकर्ता र जनताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। शहीद परिवारका प्रतिनिधिहरूले आफ्ना भावना व्यक्त गर्दै जनयुद्धका शहीदहरूको सपना साकार पार्न पार्टी र सरकार जिम्मेवार बन्नुपर्ने माग राखे।

कार्यक्रमको अन्त्यमा शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। उपस्थित सहभागीहरूले शहीदहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाए।

उक्त कार्यक्रममा प्रमुख अतिथि हेमराज भट्टराई “श्रवण”, विशिष्ट प्रदेश अध्यक्ष उत्सव चौधरी, पदम गिरी, प्रेम वि.सी., प्रशान्त खडक शाहलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, युवा, महिला तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूले महत्वपूर्ण भूमिका खेलेका थिए।

आयोजक समितिले कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वीर ब. केसीले गरेका थिए भने सञ्चालन सचिव सुरेशलाल चौधरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *