दिपक बहादुर विश्वकर्मा डोटी/बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । मङ्गलवार वडा नम्बर ७ चवराचौतारामा रहेको ट्रान्सफर्मरमा बिजुली बालिएको छ । नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् चवराचौतारामा रहेको ट्रान्सफर्मरमा पुगेसँगै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्विच अन गरेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका उत्तम धामीको उपस्थिति रहेको थियो ।
विद्युतको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम भइरहेको बताएका छन् । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको पनि अध्यक्षले बताए । उनले अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने बताएका छन् । ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने अध्यक्षको भनाई छ ।
हाल बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ । वडा नम्बर ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सोलार विद्युत्को पहुँच छ भने अन्य ठाउँमा ३ ,१ बिजुली पुगेको छैन । लामो समयसम्म बिजुली विस्तार नहुँदा यहाँका नागरिक आक्रोशित थिए । पालिका केन्द्रमा विद्युत् पुगेपछि नागरिकमा केही आशा पलाएको छ ।
तर पालिकाका केही वडाहरू अझै पनि अन्धकारमै रात काट्न बाध्य छन्। राष्ट्रिय प्रसारण लाइन जोड्ने काम अलपत्र परेको कारण यहाँका स्थानीयहरू सोलार, टुकी र मट्टितेलका बत्तीको भरमा बस्नुपरेको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाले दुई वर्षअघि बोगटानमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न टेन्डर गरिसकेको थियो। तर, ठेकेदार कम्पनीको लापरबाहीका कारण विद्युत् विस्तारको काम अधुरै छ। ठाउँ-ठाउँमा पोलहरू राखिए पनि तार जडान नहुँदा बोगटानका धेरै वडाहरू अझै अन्धकारमै रहेका छन्।
स्थानीय सरकार र सम्बन्धित निकायलाई पटक-पटक अनुरोध गरे पनि समस्या समाधान नभएको बासिन्दाहरूको गुनासो छ। बोगटानका विभिन्न वडामा विद्युत् विस्तारका लागि पूर्वाधार निर्माणको केही काम भए पनि आधा अधुरो छोडिएको छ।