Skip to main content

Bhajani Today

नविल बैंक टीकापुर शाखाद्वारा न्यानो कपडा वितरण

दिपक बहादुर विश्वकर्मा टीकापुर:टीकापुर, वडा नम्बर २ स्थित श्री जनजागृति माध्यमिक विद्यालयमा नविल बैंक लिमिटेड, टीकापुर शाखाले न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यो कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई चिसो मौसममा राहत प्रदान गर्न न्यानो कपडा वितरण गरिएको हो।

कार्यक्रमका अवसरमा नविल बैंक टीकापुर शाखाका प्रमुख जनकराज ओझाले आफ्नो सम्बोधनमा बैंकले सामाजिक कार्यहरूलाई प्राथमिकतामा राख्दै शिक्षा र सामुदायिक विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, टीकापुरका समाजसेवी तथा युवा व्यवसायी कोमल ज्ञवाली, शिक्षक-शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापकले नविल बैंकको सहयोगप्रति आभार प्रकट गर्दै यस्तो पहलले विद्यार्थीहरूको शैक्षिक प्रगति र समग्र हितमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि सहयोगप्रति खुशी व्यक्त गर्दै बैंकलाई धन्यवाद दिएका थिए।

यस न्यानो कपडाको वितरणले विद्यार्थीहरूलाई चिसोबाट जोगिन सहयोग गर्ने विश्वास गरिएको छ। नविल बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *