
भजनी /कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ। मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधवार बिहानसम्म पनि जारी रहेको छ।
वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ।कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ ।
वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ । गौरीगंगा नगरपालिका –७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका –९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ भने भजनि नगरपालिकाका कटानपुर,बर्दवाफाँटा, लालबाेझि, कुडि सुनाहाफाँटा,कृष्णनगर, काढाढीक ,धनैरा र टिकापुर नगरपालिकाका ७ प्रतिपुर क्षेत्रकाे सडकमा पानी पसेको घरमा पानी पस्न लागेको र भजनी नगरपालिकाका ठेकीपुर देखि भजनी बजार र महादेउली देखि भजनी बजार आउने बाटो अवरुद्ध रहेको भजनी नगरपालिका विपत् फोकल पर्सन विष्णु प्रसाद न्यौपानेले बताए ।