साझा अक्षर

विपद् ब्यवस्थापनमा झापाका सबै संघसंस्था जुट्ने प्रतिवद्धता

 

बिर्तामोड असार ७॥   झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ ।

सहारा नेपाल सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने सुझाब दिए । उनले विपद्को पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । जसका लागि कोभिडको समयमा संकलन भएको रकम मध्ये केही रकम मौजात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न सुझाब दिए ।

सबै झापाली मिलेर एकसय रुपैयाँ ‘क्यूआर’ मार्फत जम्मा गर्ने हो भने पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न सकिन्छ उनले भने – जुन कोषबाट प्राप्त आम्दानीले आईपने विपद्मा राहत र उद्धारमा सहयोग पुग्छ ।

मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कोषाध्याक्ष जलकुमार गुरुङले विपद् बारे अध्ययन र योजना बनाउन नसक्दा बाढी जन्य विपद्का कारण बर्षेनि झापाबासीले सास्ती ब्यहोर्दै आएको र त्यसलाई न्यूनीकरणका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए । आपत पर्दा हारगुहार माग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको गुरुङको भनाई छ ।

नेपाली कांग्रेस झापाले समेत गाउँ स्तरसम्म विपद व्यवस्थापनमा जुट्न संयन्त्र बनाएको र व्यवसायीले समेत यो खाले तदारुकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले विपद् ब्यवस्थापनमा आफू सहयोग गर्न तत्पर रहेको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् ब्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्म समेत रहेको बताएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अथिति समेत रहेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बिपद् व्यवस्थापनका लागि पूर्ब तयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । उनले झापामा हुन सक्ने विपद् जोखिमको अध्ययनको काम भएरहेको र जनस्तरमा पुगेर राहत र उद्दारका कामलाई प्रभावकारी बनाउन सचेतना अभियान समेत जारी राखेको बताए ।

कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मीनु ओली लगायतले आ आफ्नो धारणा राखेका थिए । जिल्लाका तीन दर्जन बढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *