साझा अक्षर

भजनी नगरपालिकाको साझेदारीमा सबैभन्दा लामो जैविक तटबन्ध कान्द्रा नदीमा

भजनी २८ माघ/भजनी नगरपालिका तथा विभिन्न साझेदार संस्थाहरूको संयुक्त सहकार्यमा भजनी नगरपालिकामा हालसम्मकै सबैभन्दा लामो जैविक तटबन्ध निर्माण कार्य अघि बढेको छ। भजनी नगरपालिका वडा नं. ४ झल्झलिया क्षेत्रमा ७५० मिटर लम्बाइको जैविक तटबन्ध कान्द्रा नदीमा निर्माण भइरहेको हो।

उक्त तटबन्ध निर्माणका लागि भजनी नगरपालिका तर्फबाट रु. ६,८६,५८२.६६, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर (SAAN) परियोजनाबाट रु. ११,००,०००, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली (NBS) परियोजनाबाट रु. ५,४९,००० तथा स्थानीय उपभोक्ताको सहभागिताबाट रु. २,५८,७१९.२९ गरी कुल रु. २५,९४,३०१.६९ लागतमा जैविक तटबन्ध निर्माण कार्य भइरहेको भजनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्टले बताउनु भयो।

प्रत्येक वर्ष बाढी र नदी कटानको उच्च जोखिममा रहने उक्त क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले जैविक तटबन्ध निर्माण थालिएको हो। जैविक प्रविधिमार्फत निर्माण हुने यस तटबन्धले वातावरणीय सन्तुलन कायम राख्दै दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जैविक तटबन्ध निर्माण नगरपालिकाको दीर्घकालीन योजना अन्तर्गत अघि बढाइएको महत्वपूर्ण परियोजना भएको भट्टले बताउनुभयो। उहाँले भन्नुभयो,

“नदी कटान र बाढी नियन्त्रण भजनी नगरपालिकाका लागि प्रमुख चुनौतीको विषय हो । साझेदार संस्थाहरू र स्थानीय उपभोक्ताको सहकार्यमा निर्माण भइरहेको जैविक तटबन्धले वातावरण संरक्षणसँग स्थानीय बस्ती र बासिन्दाहरुलाई जोड्दै कृषि योग्य भूमी संरक्षण गर्न समेत जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”उहाँले यस्ता परियोजनामा स्थानीय उपभोक्ताको प्रत्यक्ष सहभागिताले कामको स्वामित्व र दिगोपन अझ मजबुत हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

स्थानीयवासीहरूले पनि जैविक तटबन्ध निर्माणपछि बर्सेनि झेल्दै आएको बाढी तथा कटानको समस्या न्यून हुने अपेक्षा वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख बिष्णु राज न्यौपानेले बताउनु भयो । निर्माण कार्य सम्पन्न भएपछि वडा नं. ४ झल्झलिया क्षेत्रका बस्ती, खेतीयोग्य जमिन तथा पूर्वाधारहरू सुरक्षित हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *