जोशीपुर / जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले आफूमाथि कालोमोसो छर्किनेहरूलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले प्रतिसोध साधेर चरित्रहत्या गर्ने नियतले आफूमाथि दुर्व्यवहार गरिएको बताएका छन्।
जेठ ११ गते कार्यालयको काम सकेर बेलुका करिब ५:५० बजे घर जाने क्रममा मैनपोखरी पुलनिर तपाईंसँग काम छ, भन्दै ८/१० जना कम्युनिष्ट युवा संगठन नेपाल बताउने अराजक युवाहरुबाट मेरो चरित्रहत्या गर्ने नियतले गरिएको दुर्व्यवहार र अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहान्छु। यस्ता गतिविधिहरु न केवल मेरो व्यक्तिगत मर्यादा र प्रतिष्ठामाथिको हमला हो यो सम्पूर्ण जोशीपुर गाउँपालिका र यहाँको जनताको अस्मिता माथि पनि आघात हो,’ अध्यक्ष चौधरीले भनेका छन्।
उनले आर्थिक वर्ष २०८०/०८१ को बेरुजु कैलाली जिल्लामै कम भएको र अझै पनि चुस्तदुरुस्त बनाउन लागिरहँदा केही व्यक्तिहरु योजनाबद्ध रूपमा झुटा आरोप र सामाजिक संजालमा गलत सूचना प्रचार गरी आफ्नो छबिमा दाग लगाउने प्रयास गरेको आरोप लगाएका छन्। उनले ती सबै असत्य र कपोलकल्पित आरोपको खण्डन गरेका छन्।
जनप्रतिनिधि हुँदा आलोचना स्वभाविक हो तर नियोजित बदनाम गर्ने अभियान र असिस्त व्यवहारलाई सहन गर्न सकिँदैन। म स्पष्टरुपमा भन्न चाहान्छु कि मेरो कार्यकालमा म जनताको हकहित र सम्वृद्धितर्फ समर्पित छु र कुनै पनि अमर्यादित तत्वले मेरो निष्ठा र समर्पणलाई कमजोर पार्न सकिँदैन। मैले यस घटनामा संलग्न दोषी उपर कानुनी कारबाहीको लागि प्रहरी प्रशासनलाई हार्दिक अनुरोध गर्दछु र समाजमा शान्ति, मर्यादा र अनुशासन कायम राख्न सबै जोशीपुरवासीहरुलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।
नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीले पनि अध्यक्ष चौधरीमाथि भएको दुर्व्यवहारप्रति खेद प्रकट गरेका छन्। ‘सार्वजनिक पद धारण गरेको ब्यक्तिले कुनै प्रकारको गलत क्रियाकलाप, भ्रष्टाचार,जघन्य अपराध गरेको खण्डमा कारबाहीका कानुनी आधार हुँदाहुँदै जोशिपुर गाउँपालिका प्रमुख चित्रबहादुर चौधरीमाथी भएको दुर्व्यवहारप्रति खेद प्रकट गर्न चाहन्छु। साथै सत्यतथ्य बुझ्नका लागि आज गाउँपालिका कार्यालयमा उपस्थित हुने जानकारी गराउँदछु,’ उनले भनेका छन्।