साझा अक्षर

डोटीको कानाचौर माध्यमिक विद्यालयको भवन बजेट अभावमा अलपत्र

डोटी — बोगटान फुडसिल गाउँपालिका–३ स्थित कानाचौर माध्यमिक विद्यालयको चार कोठे भवन बजेट अभावका कारण अलपत्र परेको छ। प्रदेश सरकारले उक्त भवन निर्माणका लागि बजेट स्वीकृत गरे पनि पर्याप्त रकम नआउँदा काम अधुरै रहेको छ।

विद्यालयका प्रधानाध्यापक तारा प्रसाद जोशीका अनुसार भवन निर्माण कार्य ठेक्का प्रणालीमार्फत सुरु गरिएको भए पनि बजेट अभावका कारण निर्माण रोकिएको हो। “स्थानीय तहले पनि विशेष चासो नदेखाउँदा समस्या झन् जटिल बन्दै गएको छ,” उनले भने।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरू भने भवन अधुरो हुँदा पठनपाठनमा समस्या भोग्न बाध्य छन्। विद्यार्थी प्रेम भुल भन्छन्, “हामीलाई नयाँ भवनको आवश्यकता छ, तर समयमै निर्माण नहुँदा सिकाइ प्रभावित भइरहेको छ।”

स्थानीय बासिन्दाहरूले चाँडोभन्दा चाँडो भवन निर्माण कार्य सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन्।

उक्त भवनको ठेक्का स्थानीय इनाडा टोलका निर्माण व्यवसायी बम बहादुर बमले लिएका थिए। उनले भने, “विद्यालय व्यवस्थापनले मलाई ठेक्का दिएको थियो, तर बजेट अभावका कारण काम रोकिएको छ।” उनका अनुसार ५० हजार रुपैयाँ विद्यालयलाई छोडेर १४ लाख ५० हजार रुपैयाँमा जग निर्माण गरिए पनि थप रकम नआएकाले बाँकी काम अघि बढ्न सकेको छैन।

“शिक्षा मन्त्रालयमा थप बजेटका लागि निवेदन दिइएको छ। यदि बजेट स्वीकृत भयो भने आगामी वर्षभित्र भवन पूरा गर्नेछु,” उनले बताए।प्रदेश सरकारले चार कोठे भवनका लागि १५ लाख रुपैयाँ स्वीकृत गरेको थियो। उक्त रकमबाट मात्र जग निर्माण गरिएको र थप बजेट अभावले बाँकी संरचना निर्माण रोकिएको ठेकेदार बमले जानकारी दिए।”पालिकाले पनि स्टिमेट हेरिसकेको छ। विद्यालय व्यवस्थापनले काम सम्पन्न भएको प्रमाणित गर्दै माइन्युट गरिसकेको छ। जग निर्माणपछि विद्यालयले भुक्तानी गरेको हो,” उनले स्पष्ट पारे।विद्यालय भवन अपूर्ण हुँदा विद्यार्थीहरू सुरक्षित वातावरणमा अध्ययन गर्न सकिरहेका छैनन्। स्थानीय तहले यस विषयमा चासो नदेखाएको गुनासो उठिरहेका बेला सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गर्ने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाहरूले सरकार र सरोकारवाला निकायलाई चाँडोभन्दा चाँडो आवश्यक बजेटको व्यवस्था गरी भवन निर्माण सम्पन्न गर्न अपिल गरेका छन्। यदि समयमै समाधान नभए, विद्यार्थीहरूको सिकाइमा थप असर पर्ने चिन्ता उनीहरूको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *