Skip to main content

Bhajani Today

बोगटान फुड्सिल गाउँपालिकामा दुना-टपरी मेसिन खरिद र तालिम कार्यक्रम शुभारम्भ

दीपक संगम विश्वकर्मा/डोटीको बोगटान फुड्सिल गाउँपालिका, डोटीले महिलाहरूको सशक्तीकरण र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुना-टपरी मेसिन खरिद तथा तालिम कार्यक्रमको शुभारम्भ गरेको छ। यो कार्यक्रम गाउँपालिकाको आयोजनामा र महिला सञ्जालको सहकार्यमा सञ्चालन भइरहेको हो।

कार्यक्रम मंसिर १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिस्ना बामले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो। विशेष अतिथिहरूमा वडा नं. १ का अध्यक्ष खेम घर्तीमगर, वडा नं. २ का अध्यक्ष भरत बम र स्वास्थ्य शाखा प्रमुख पारस बोहरा रहेका थिए।

तालिमका लागि प्रशिक्षकको रूपमा भावना मगरले निर्देशन दिइरहनु भएको छ। यस तालिममा सहभागी महिलाहरूसँग दुना-टपरी बनाउनका लागि आधुनिक मेसिनको प्रयोग, उत्पादन क्षमताको वृद्धि र आर्थिक स्वावलम्बनका उपायहरूका बारेमा जानकारी दिइने छ। उक्त तालिममा गाउँपालिका भरिका ३५ जनाभन्दा बढी महिलाहरूले सहभागिता जनाएका छन्।

कार्यक्रमको उद्घाटन अवसरमा गाउँपालिका उपाध्यक्ष बिष्ना बामले स्थानीय उत्पादनले आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। यसैगरी, वडा नं. १ का अध्यक्ष खेम घर्तीमगरले महिलाहरूको सशक्तिकरणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

तालिममा सहभागी महिलाहरूले यस किसिमका कार्यक्रमले उनीहरूलाई मात्र आर्थिक रूपमा आत्मनिर्भर बनाउने छैन, सांस्कृतिक संरक्षणमा पनि योगदान पुर्याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *