खेमराज पाण्डेय,भजनी १० मंसिर /भजनी नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२/०८३ मा ५७ वटा मुद्दा निरुपण गरेको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार क्षेत्रभित्र रहेर समितिले विवाद समाधान तथा न्याय सम्पादनको काम गर्दै ५७ वटा मुद्दाको निरुपण गरेको हो । न्यायिक समितिको प्रगति प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) अन्तर्गत दर्ता भएका ११ वटा मुद्दामध्ये ८ वटा मेलमिलापको माध्यमबाट र ३ तीनवटा न्यायिक समितिको फैसलाबाट निरुपण भएका छन् ।
त्यसैगरी, ऐनको दफा ४७ (२) अन्तर्गत दर्ता भएका ४६ वटा मुद्दामध्ये २१ वटा मेलमिलापबाट र २५ वटा न्यायिक समितिको फैसलाबाट निरुपण भएको बताइएको छ । दुवै दफाअन्तर्गत गरी कुल ५७ वटा मुद्दा निरुपण हुँदा २९ वटा मेलमिलापबाट र २८ वटा न्यायिक समितिको फैसलाबाट टुंगो लगाइएको प्रतिवेदनमा उल्लेख छ ।
नन्यायिक समिति संयोजक तथा नगर उपप्रमुख राजु तिरुवाले स्थानीय स्तरमै नागरिकलाई सहज, सरल र छिटो न्याय उपलब्ध गराउने उद्देश्यले न्यायिक समितिले काम गरिरहेको बताएकी छन् । उनका अनुसार सकेसम्म विवादलाई आपसी समझदारी र मेलमिलापका माध्यमबाट समाधान गर्ने प्रयास गरिँदै आएको छ । नागरिकले सामान्य विवादका लागि अनावश्यक रूपमा लामो कानुनी प्रक्रिया र खर्च व्यहोर्न नपरोस् भन्ने उद्देश्य समितिको रहेको उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनले स्थानीय तहमा न्यायमा नागरिकको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कानुनले दिएको अधिकार र प्रक्रियाभित्र रहेर विवाद निरुपण गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहका न्यायिक समितिलाई निश्चित प्रकृतिका विवाद निरुपण गर्ने अधिकार प्रदान गरेअनुसार भजनी नगरपालिकाको न्यायिक समितिले स्थानीय नागरिकका विवादलाई स्थानीय तहमै समाधान गर्ने प्रयास गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टले आफ्ना नागरिकहरूलाई सहज, सहज र पारदर्शी रुपमा सेवा प्रवाह गर्नु नै स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यो दायित्वलाई आत्मसात गर्दै नगरपालिका अगाडि बढेको बताएका छन् ।